होशे

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14


अध्याय 6

“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं।
3 आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”
4 “ए एप्रैम, म तिमीलाई के गरूँ? ए यहूदा म तिमीलाई के गरूँ? किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै र बिलिने शीत जस्तै छ।
5 यसैकारण मैले तिनीहरूमाथि अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
6 किनभने म अमर प्रेम चाहन्छु बलिदान होइन अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा परमेश्वरलाई बेशी जानुन्।
7 तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।
8 गिलाद अधर्मीहरूको शहर हो। त्यो रगतले भरिएको छ।
9 जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
10 इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु, एप्रैमको वेश्यावृत्ति त्यहाँ छ। इस्राएल अशुद्ध भएको छ।
11 ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ। त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”